एजेन्सी । बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले सोमबार राति ज्युरिचमा लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फको अवार्ड जितेका हुन् ।
डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पहिलो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको किर्तिमानसमेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको कीर्तिमान तोडेका हुन् ।

यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

‘धेरै–धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु । म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु । मैले कहिल्यै पनि मुलरको कीर्तिमान तोड्छु भनेर कल्पनासमेत गरेको थिइनँ । केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडेँ । उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे,’ लेवान्डोस्कीले भनेका छन् ।















