काठमाडाैं, माघ ५ । पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजे भिड्नेछन् ।
राष्ट्रिय तथा युवा खेलाडी सम्मिलित दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । १० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार प्राप्त गर्नेछन् । सेमिफाइनलबाट बाहिरिने आर्मी र बागमतीले समान ५०–५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।
















