काठमाडौं, माघ ५ । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै सांगीतिक क्षेत्रको विश्व प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । यही जनवरी ३१ का लागि तय गरिएको यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुने भएको छ ।
आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको छ । आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन् ।
यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन् । यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन् । अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो । यस पटकको ग्रामी अवार्डका लागि चर्चित कलाकारहरु जस्टिन बिबर, बिली इलिस, ओलिविया मनोनयनमा परेका छन् ।
ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ । कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो ।























