काठमाडौं, माघ १४ । केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।
विगत तीन वर्ष देखि दूधको मूल्य स्थिर रहेको र बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपराल, दानापानी, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ ।
‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई आत्मनिर्भर हुने अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने देखिन्छ’ संघका महासचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अब पनि दुधको मूल्य नबढाए चरणवद्ध आन्दोलनमा उत्रिने सोही विज्ञप्ति मार्फत संघले चेतावनी दिएको छ । हाल संघमा एक हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाहरु गरी कुल ५ लाख कृषक आबद्ध छन् ।























