काठमाडौ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकामा त्यहाँको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी भन्दै उनले संकटबाट त्यहाँका नागरिकलाई पार लगाउनेगरी काम नभएको बताए।
म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनस्र्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुव्र्यवहारका दोषीहरूलाई कारबाही सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जोड दिएको छ।
म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुकीलाई गिरफ्तार गरेको थियो । उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह अहिले पनि जारी छ।
यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन् । अझैपनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ।























