दिपेश श्रेष्ठ
काठमाडौ । श्रमजिबी पत्रकारहरुलाई पत्रकारिता तालिम तथा पत्रकारहरुका लागी पैरवी साथै बिभिन्न कार्यक्रमहरु गर्दै आएको संस्था मिडिय एड्भोकेसी फोरम नेपालले नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई उनकै कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएको छ ।
देशको बिद्यमान परिस्थिती र कोभिड माहामारिको अवस्थामा पनि आफ्नो पेसालाई स्वास्थ्य भन्दा माथि राख्दै काम गर्ने आम श्रमजिवी पत्रकारहरुको स्वास्थ्य सम्बन्धिका सम्बन्धमा सहयाेग गर्न मन्त्री बिरोध खतिवोडाकाे ध्यानाकर्षण गराएकाे छ ।
सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइनु पर्ने, प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिइनु पर्ने र सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरिनु पर्ने लगायतको माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले स्वास्थ्य सेवालाई सुलभ र सबै नेपाली नागरिकको समान पहुँच निर्माण गर्ने हिसाबले आफू रणनीतिक ढंगबाट कार्य थालनी गर्न प्रतिबद्ध भएको बताए ।
साेहि भेटघाटको क्रममा मिडिया एड्भाेकेसि फाेरम नेपालका महासचिव निराेज ताेलाङेकाे टाेलिले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री माननीय भवानी प्रसाद खापुङ, युवा संघ नेपाल बागमती प्रदेशका प्रवक्ता तथा केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपाली र स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारी सँग पनि साैहार्दपुर्ण भेट गरेकाे छ।

ज्ञापन पत्रको पुरापाठ :
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाण्डौँ, नेपाल
विषय : ज्ञापन पत्र सम्बन्धमा
मिडिया एड्भोकेसी फोरम नेपालले नागरिकको सामाजिक सरोकारका मुद्धाप्रति विशेषगरी, सीमान्तकृत, उत्पीडित, उपेक्षित वर्ग, राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार, जनजीविकाका सवालहरु, धर्म तथा आस्थाको स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लागि पत्रकारितामार्फत नागरिकलाई सचेत र जागरुक गराउने पैरवी, बहस गर्ने पैरवी पत्रकारिताको पक्षमा कलम चलाउने आम सञ्चारमा आवद्ध पत्रकारहरूको एक स्वतन्त्र र विशुद्ध साझा मञ्च भएको जानकारी गराउँन चाहान्छौँ ।
नेपाल नागरिकका आधारभूत आवश्यकता तथा अधिकारअन्तर्गत पर्ने स्वास्थ्य उपचारको अधिकार अझै पनि अर्थपूर्ण रूपमा सबैको पहुँचमा पुग्न सकेको छैन । बरू विभिन्न पेशागत समुदायको निम्ति भन्दै अस्पतालहरू स्थापना र सञ्चालन गर्ने होडबाजी चलेको देखिन्छ । यस्तो प्रवृत्तिले नागरिकबिचमै विभेद र जीवनको महत्व नै कमबेसी पो हो कि भन्ने सोच निर्माण गर्नेछ । लोकतन्त्रको मर्म राज्यको नजरमा सबैको जीवन र स्वास्थ्य बराबर हो, यसमा पहुँच र प्रभावको भरमा कुनै खास खास वर्ग, पेशा वा क्षेत्रियताका नागरिकहरूका लागि अस्पताल निर्माण गरिने, तर त्यसरी गोलबन्द भएर दबाव र प्रभाव पार्न नसक्ने समुदायहरूको बेवास्ता गरिन सकिने भन्ने हुँदैन । यसको सट्टा सबैको समान र उचित पहुँचसहितको स्वास्थ्य सेवा देशैभरि प्रदान गरिनु नै दीर्घकालमा प्रभावकारी र मितव्ययी सिद्ध हुनेछ ।
तसर्थ स्वास्थ्यमा आम नागरिकको समान पहुँच स्थापित गरी सबै नेपाली नागरिकलाई स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने माग गर्दै माननीय स्वास्थ्य मन्त्री श्री विरोध खतिवडा ज्युमार्फत राज्यको ध्यानाकर्षण गराउँदछौं ।
मागका बुँदाहरूः
(१) सबै नेपाली नागरिकहरूका निम्ति सम्पूर्ण रूपमा निशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइयोस् ।
(२) प्रत्येक प्रदेशमा कम्तीमा एउटा सबै प्रकारका जाँच उपचारको सुविधासम्पन्न अस्पताल निर्माण गरियोस् ।
(३) सबै नागरिकको निम्ति अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।
धन्यवाद ।
अध्यक्ष, विदुर अधिकारी
महासचिव, निरोज तोलाङे
मिडिया एड्भोकेसी फोरम (माफ) नेपाल























