काठमाडौ । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण खेलमा २ विकेटको जित निकालेको छ।
सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पीएनजीलाई निर्धारित ५० ओभरमा २०४ मा रोकेको थियो। दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २०५ रनको लक्ष्य ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो। खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले।
रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए। यस्तै करण केसीले अविजित रहँदै २९ रनको योगदान गरे।
पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २र२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गर्यो। पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए। उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे।
यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेका थिए।
नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए। नेपालले ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ। अंक विहीन पीएनजी १४ खेल खेल्दै पुछारमा छ। शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ।
त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ।























