काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार भोलि बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।
बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र सम्पुर्ण परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको थियो । बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।
गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्यालाई सुधार गर्दै प्रश्नपत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुनेछन् ।























