रबिन्द्र यादव
नवलपरासी । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी प्रतापपुर गाउँपालिका – ८ पिपरपाती स्वास्थ चौकीमा सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको चौकी इन्चार्ज सुरजलाल गुप्ताले जानकारी दिए । १५ महिना देखि १५ वर्षसम्म उमेर समूहका विद्यालय जाने र नजाने करिब एक हजार ३ सय बालबालिकाहरूलाई यो खोप लगाइने छ ।
अन्य उमेर समूहमा भन्दा यो समूहका व्यक्तिहरूलाई रोगको संक्रमण ११ गुणा बढी हुने भएकाले पनि पहिलो चरणमा लक्षित समूह रहेको गुप्ताले जानकारी दिए ।
जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, प्रअ, शिक्षक तथा पत्रकारको उपस्थितिमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । यसैगरी सुरजपुर स्वास्थ्य चौकी र खरेटवा स्वास्थ्य चौकीले पनि टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी एक दिवसीय सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
खानेपानी तथा दिसापिसाबको माध्यमबाट फैलिने यो रोग नियन्त्रणमा सबैले सचेत हुनुपर्ने धारणा खरेटवा स्वास्थ्य चौकीका प्रमुख मन्तोष मौर्याले जानकारी दिए ।
चैत २२ गतेबाट सुरु हुने खोप अभियानमा कोही पनि नछुटुन् भनेर आ–आफ्नो ठाउँबाट सबैले प्रचारप्रसार र यस अभियानमा सहयोग गर्न स्वास्थ्य चौकी प्रमुख मौर्याले सबै सरोकारवाला संग आग्रह गरे ।
विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा यो सेवा उपलब्ध हुने सुरजपुरा स्वास्थ्य चौकी इन्चार्ज संजय कुमार शर्माले बताए ।
सुरजपुर स्वास्थ्य चौकी क्षेत्र भित्र बिद्यालय जाने र नजाने करिब १८ सय बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने लक्ष्य रहेको उनले भने ।























