काठमाडौं, चैत २५ । आजदेखि सरकारले देशभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ।
टाइफाइडविरुद्धको खोप अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा उद्घाटन गरेका थिए। दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए।
राष्ट्रिय खोप अभियानअन्तर्गत आजबाट देशभरका बालबालिकालाई खोप लगाउन थालिने भएको हो। यो अभियान आगामी वैशाख १८ सम्म चल्नेछ।
यसक्रममा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यसका लागि देशभरका ५० हजारभन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ। अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिने जनाइएको छ। यो खोप निःशुल्क प्रदान गरिनेछ।























