काठमाडौं । एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले विश्वभरबाट एक हजार करोड (१० अर्ब) कमाइ गरेको छ। निर्माण टिमले आइतबार हजार करोड कमाएको पोस्टर सेयर गर्दै यो जानकारी दिएको हो।
भारतबाट एक हजार करोड कमाउने यो तेस्रो फिल्म हो। यसअघि राजामौलीले नै निर्देशन गरेको ‘बाहुबली २’ र नितेश तिवारी निर्देशित ‘दंगल’ले विश्वभरबाट हजार करोडभन्दा बढी कमाइ गरेका थिए।
आरआरआरले पहिलो हप्ता नै सात सय करोड कमाइ गरेको थियो। तेस्रो हप्तामा फिल्मले हजार करोडको आँकडा छोएको हो। फिल्ममा रामचरण र जुनिएर एनटीआरको मुख्य भूमिका छ।
ब्रिटिसकालीन समयको मित्रताको कथामा आधारित यो फिल्ममा अजय देवगण र आलिया भट्टको पनि छोटो भूमिका छ।























