काठमाडौं, बैशाख २८ । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार पनि ४ बजेसम्म पढाई हुने भएको छ । त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले बताए ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै विदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।























