काठमाडौं, असार ८ । केहि दिनअघि हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको हो । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु रहेको उनले जानकारी दिए ।
हैजा देखिएका अन्य क्षेत्रको पानीको पनि नमुना परीक्षण भइरहेको डा. दासले बताए । आज पनि थप एक जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै काठमाडौंमा हैजाको संक्रमित संख्या ५ पुगेको छ ।























