काठमाडौं, असार १२ । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन् । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ ।
निर्देशक डा.दासका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन सबैलाई आग्रह गरेको छ ।























