काठमाडौं, साउन १७ । दुई वर्षअघि नेपालमा प्रदर्शन भएको चलचित्र ‘जीवन काँडा कि फूल’ भारत पनि प्रदर्शन हुने भएको छ । भारतको विभिन्न स्थानमा रहेका नेपालीमाझ उक्त चलचित्र प्रदर्शन गर्न लागिएको कार्यकारी निर्माता जुनु गौतमले बताइन् ।
उनका अनुसार चलचित्र सेप्टेम्बर २ अर्थात् भदौ १२ गतेबाट भारतका सिक्किम, दार्जिलिङ, कालिङ्गपोङ, कर्स्याङ, मिरिकसँगै उत्तरपूर्वका विभिन्न राज्यमा एकसाथ प्रदर्शन हुनेछ । चलचित्र साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति ‘जीवन काँडा कि फूल’ माथि बनेको हो ।
झमकको कृति पढिसकेका भारतमा रहेका नेपालीमुलका दर्शकमाझ चलचित्रको माग भएपछि प्रदर्शनी तय भएको चलचित्रका निर्देशक विनोद विष्टले जानकारी दिए । नेपालमा झै भारतमा रहेका नेपालीमाझ चलचित्र लोकप्रिय हुने उनको विश्वास छ ।
चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलिगुढीकी अवस्था थापा र झमकको किशोरावस्था पूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यलाई देख्न सकिन्छ । त्यस्तै चलचित्रमा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको समेत अभिनय रहेको छ ।
मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र मुक्तिको संवाद छ । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्रको कार्यकारी निर्माता गौतमसँगै बद्री चौहान र उमेश सुवेदी पनि हुन् ।























