बनियानी, मंसिर १५ । झापामा चार महिनाको अवधिमा ३७ एचआईभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआईभी एड्स संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय झापाका एचआईभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्नेगरी २६ एचआईभी संक्रमित थपिएका हुन् ।
गत वर्ष ३० जनामा एचआईभी एड्स संक्रमण भएको थियो । जिल्लामा हाल छ सय ३६ एचआईभी संक्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् । दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ । रासस























