पाल्पा, मंसिर २१ । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका पाल्पाको बगनासलकाली गाउँपालिका – १, चिर्तुङधारा घोरबन्दाका बिरामीको उपचारका लागि बुधबार पनि बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मी घरघरमा खटिएका छन् । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।
मंगलबार ११ जना स्वास्थ्यकर्मीको टोलीले १ सय १ जनालाई प्राथमिक उपचार, जीवनजल, औषधि, आवश्यक औषधि, स्वास्थ्य शिक्षा प्रदान गरेका थिए । सोमबार चिर्तुङधारास्थित स्वास्थ्य चौकी प्रमुख नोदप्रसाद बस्याल र स्वास्थ्यकर्मी महेश ढुंगानाले ६० जनाभन्दा बढीलाई प्राथमिक उपचार गरेका थिए । घरमा आँत्तिएपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पुगेका थिए ।
मिसन अस्पतालमा पाँच जनाको भर्ना भएर उपचार भइरहेको छ । ३४ जनामध्ये बाँकी घर फर्किसकेका छन् । मिसन अस्पतालका डा. सञ्जीव रावलले एकै प्रकारको लक्षण देखिएकाले उनीहरूलाई भर्ना गरेर उपचार गर्नु नपरेको बताए । अधिकांश बिरामी गाउँमै भएकाले बगनासकाली र मिसन अस्पतालबाट स्वास्थ्यकर्मी खटाएर मंगलबारदेखि उपचार थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।
चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सयभन्दा बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेको स्थानीयले बताए । ‘कतिपयले जानकारी नै नदिएर बसेका छन्,’ स्थानीय मुक्ति बस्यालले भने, ‘बिहे भोज खाएका प्रायः सबैमा समस्या देखिएको छ ।’























