काठमाडौँ, वैशाख २ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ लाख टन गहुँ आयातको अनुमति दिन भारतीय पक्षलाई पत्र लेखेको छ । उद्योग मन्त्रालयले लेखेको पत्र परराष्ट्र मन्त्रालयमार्फत लैनचोरस्थित भारतीय दूतावास हुँदै भारत पुगेको हो ।
नेपाल फ्लोर मिल एसोसिएशनका उपाध्यक्ष दिनेशकुमार अग्रवालले ३ लाख टन गहुँ आयातको अनुमति माग्दै भारतीय पक्षलाई पत्राचार गरेको जानकारी दिए । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई झकझक्याउँदा बल्ल–बल्ल थप गहुँ आयातको अनुमतिका लागि पत्र भारत पुगेको बताए ।
यसअघि, भारतले गहुँको निर्यात प्रतिबन्ध लगाए पनि नेपाललाई भने वार्षिक ५० हजार मेट्रिक टन गहुँ आयातको अनुमति दिएको थियो । तर, यति गहुँले नेपालका उद्योग चल्न नसक्ने र आन्तरिक माग धान्न नसक्ने उद्योगी–व्यवसायीको भनाई छ । यहीकारण, भारतसमक्ष थप गहुँ आयात अनुमति मागिएको हो ।























