काठमाण्डौ, वैशाख ३ । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन् ।
आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै साउदले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर त्याे कामलाई अघि बढाउने बताए ।
मन्त्री साउदले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए ।























