काठमाडौं, वैशाख ८ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण बढ्न थालेको छ ।
सन् २०२३ को जनवरीदेखि मार्च तेस्रो सातासम्म देशभर ५०० जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो वर्ष (सन् २०२३) मा देशको ५२ जिल्लामा डेंगु देखिएको छ । तीमध्ये सबैभन्दा धेरै दार्चुलामा १७६ जनामा डेंगु पुष्टि भएको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।
थपिने संक्रमितसँगै केही पूरानै संक्रमितहरूमा पनि एन्टीबडी परीक्षणको क्रममा डेंगु देखिएको डा. दाहालले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा हालसम्म ५० भन्दा कम संक्रमित देखिएका छन् । गतवर्ष (सन् २०२२) मा काठमाडौंमा सबैभन्दा धेरै १४ हजार ३७६ जनामा संक्रमण पुष्टि भएको थियो । सन् २०२२ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा डेंगु संक्रमण देखिएको थियो ।
महाशाखाको तथ्यांकअनुसार सो एक वर्षमा ५४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन संख्या नेपालमा डेंगु सुरु भएयता (सन् २००४) कै सबैभन्दा बढी हो । त्यस्तै, सन् २०२२ मा डेंगु संक्रमणबाट ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।























