काठमाडौँ । सरकार गठन भएको ५ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
पुस १० मा एमाले, रास्वपा, राप्रपासहितका दलको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डलाई राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएसँगै कांग्रेसले थमौती दियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिँदा कांग्रेसले समर्थन गर्यो । सोहीअनुसार उनले कांग्रेससमेतका दललाई चित्त बुझाएर बल्ल आज मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
एमालेले फागुन १५ गतेसम्म सरकारलाई समर्थन गरेको थियो । त्यो बीचमा प्रचण्डले ४ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसअनुसार प्रचण्डले पुस ११ मा सानो आकारको मन्त्रिपरिषद् बनाए । त्यसपछि उनले माघ ३, माघ १४, २३ र फागुन १४ गतेसमेत मन्त्रिपरिषद् विस्तार गरे । करिब मन्त्रिपरिषद्ले पूर्णता पाइसक्दा फेरि समीकरण बदलिएपछि मन्त्रिपरिषद् पनि पुनर्गठन र विस्तार गर्नुपर्ने बाध्यता प्रचण्डलाई आइलाग्यो ।
जसअनुसार प्रचण्डले फागुन १६ गते, चैत १७ गते, वैशाख ३ गते , २१ गते र २४ गते फेरि मन्त्रिपरिषद् विस्तार गरे । आज आएर फेरि जसपाबाट मन्त्री थप्दै प्रचण्डले २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रचण्डले आज वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्ति गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको आजै शपथ ग्रहण हुँदैछ ।























