मोरङ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी अस्पतालले सुविधा सम्पन्न ६ तल्ले नयाँ भवनबाट स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । नयाँ भवनको बिहीबार उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा रहेका अस्पतालको संरक्षण प्रदेश सरकारले गर्ने बताएका छन् ।
प्रदेशमा सेवामूलक ब्यवसाय स्वास्थ्य क्षेत्रमा निर्धक्क भएर काम गर्न जोड दिँदै मुख्यमन्त्री कार्कीले अस्पतालको संरक्षण र सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउनेमा जोड दिएका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार बलियो हुँदा स्वास्थ्य क्षेत्रसमेत दरिलो हुने बताएका छन् ।
अस्पतालका संस्थापक तथा वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिष्ट डाक्टर वीरेन्द्र विष्टले अध्याधूनिक उपकरणहरू जडान गरी नयाँ भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा गरिएको जानकारी दिए ।
पछिल्लोसमय विराटनगरको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउँदै डा. विष्टले भने,’विराटनगर अब मेडिकल हबको रुपमा स्थापित हुँदै गएको छ । यसको एउटा जिम्मेवार भागको रुपमा हामी आफ्नो भूमिकाप्रति गंभीर, सचेत र इमान्दार रहेकाछौं ।’
विगत २३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा प्रवाह गर्दै आएको बताएका अस्पतालका संस्थापक डा. विष्टले हाल अस्पतालले १५० शैय्याको बहुआयामिक अस्पतालको रुपमा विकास भएको बताए । डा. विष्टले अस्पतालको सुरुआत १० शैय्याको न्यूरोलोजी सेवाबाट गरेका हुन् ।
अस्पतालका डाइरेक्टर राजेश भट्टराईका अनुसार अस्पतालले १५ करोडका लगानीमा टेस्ला कम्पनीको १.५ एमआरआई मेशिन जडान गरेको छ । टेस्लाको एमआरआई जडानभएसंगै अस्पतालमा दुई वटा एमआरआईबाट सेवा उपलब्ध हुने भट्टराईले जानकारी दिए।
त्यसैगरी, अस्पतालले अल्ट्रासाउण्ड मेशिन पनि नयाँ जडान गरेको भट्टराईले जानकारी दिए । हाल अस्पतालले न्योलोजी, मुटु रोग सेवा, जनरल मेडिसिन,स्त्री रोग तथा प्रसुति, मानसिक, नेफ्रोलोजी, ग्याष्ट्रोलोजी, आपातकालिन, रेडियोलोजी, चर्म तथा यौन रोग, फिजियोथेरापी,संक्रमण रोग, न्यूरो सर्जरी, हाडजोर्नी, जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक, नवजात शिश तथा बाल स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।























