सुनसरी, मङ्सिर २८ । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारबालाहरुले सुधारको माग गरेका छन् ।
विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्वारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । अभियानका संयोजक दिलिपचन्द साहु र सचिव जयकृष्ण यादवले बुधबार प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै इनरुवा नगरपालिका क्षेत्रका ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानविन गरी दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग गरेका छन् ।
ज्ञापन पत्रमा भनिएको छ, “इनरुवा नगर क्षेत्रको शैक्षिक सुधारका लागि अभियानले क्याम्पसदेखि विद्यलायसम्ममा रचनात्मक कार्य गर्दै आएकोमा शिक्षामा सुधारका लागि इनरुवा नगरपालिकामा ज्ञापनपत्र, मागपत्र र ध्यानाकर्षण पत्र बुझाएका छौं ।”
नगरमा सुधारको माग गर्दा समेत सन्तोषजनक सुधार नभएको जनगुनासो र हाम्रो अनुमगनले देखाएकाले शैक्षिक सुधार गर्दै शैक्षिक क्षेत्रमा देखिएको बेथिति, गुटबन्दी, दलीय प्रभाव र शिक्षक कर्मचारीबीचमा बढेको आफुखुसी गर्ने परिपाटीलाई निरुत्साहित गर्न आवश्यक अनुगमन गरी छानविनसहित कावारहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।
ज्ञापनपत्रमा उल्लेख भए अनुसार केही दिनयता इनरुवा नगरपालिका शिक्षा शाखा समेतको समन्वय र शिक्षा ऐन, नियमावली तथा कार्यविधि अनुसार सरस्वती मावि बयिबामा तत्कालिन बहुमत सदस्यहरुको सहमति र निर्णयमा पदभार ग्रहण गरेको व्यक्तिको कार्यकक्षमा रहेको नेम प्लेट २०८० मङ्सिर १२ गते चोरेको घटना बाहिर आएको थाहा भयो र यसमा इनरुवा नगरपालिकाले छानविन समिति बनाएर छानविन गरि काबारही गर्नुपर्ने भनिएको छ ।
यसैगरी, मङ्सिर ८ गते गरेको विव्यसले अनुगमनका क्रममा दिउँसो १ बजे विद्यालयमा शिक्षकहरुको हाजिरी पुस्तिकामा हाजिरी भएको तर उपस्थित नभएको पाइएकाले शिक्षकलाई स्पष्टीकरण सोध्न प्रअ श्यामदेव मेहतालाई निर्देशन दिएको तर स्पष्टीकरण नसोधेको अवस्था बाहिर आएकाले ध्यानाकर्षण भएको र यर्थात् कुरा तथ्य बाहिर ल्याउन नगरपालिकासँग माग गरिएको छ ।
उक्त विद्यालयमा वर्षयता पटक पटक समयको पालन गर्न दिएको निर्देशनको अटेर गर्दै आएको गुनासो बाहिर आएको छ । यसले शैक्षिक गुणस्तर सुधारको पक्षमा असर पर्ने देखिएकाले सुक्षम छानविन गर्न नगरपालिकाले नगर सहित नागरिक समाजको समेत संलग्नतामा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ ।























