काडमाडौं, पुस २७ । आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । नेपाल एकीरणका अभियन्ता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जनताको साथ र सहयोग लिँदै मुलुकभित्र उपलब्ध स्रोत र साधनको उपयोग गरी आपसी कलहमा फसेका बाइसे/चौबिसे राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
शाहले सुरू गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधिनमा थियो ।
पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आज विविध कार्यक्रमको आयोजना गर्दै छ ।























