काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने बताएका छन् ।
युगान्डाको भ्रमण सकेर आइतबार बिहान फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “टीआरसीबारे सबै तयारी गरेका छौं । संसद्को उपसमितिबाट समितिमा विधेयक गएको छ । सदन खुल्नेबित्तिकै प्राथमिकताकासाथ राखेर टुंगो लगाइन्छ । अन्तिममा सहमतिबाटै टुंगो लाग्छ । त्यसपछि शान्ति प्रक्रियाका बाँकी कामले गति लिन्छ ।”
उनले आफूले एक वर्षको अवसरमा गरेको सम्बोधनपछि गति लिएको पनि आफूलाई महसुस भएको बताएका छन् ।
उनले आफूले टार्जेट दिएर मन्त्रीहरुलाई काममा लगाएको उल्लेख गर्दै पूरा नगरे राम्रो हुँदैन भनिसकेको र परिवर्तन पनि हुने बताए ।
अर्को एक प्रसंगमा उनले नेपालका कर्मचारी क्षमता र अनुभवको हिसाबले दुनियामा कम नभएको भए पनि तत्तपरता लिने आँट भने नभएको बताए ।
“तत्परता लिने आँट कहीँ न कहीँ कमी देखिएकै छ । त्यसको धेरै कारण छ,” उनले भने, “मुख्य सचिव पनि यहीँ हुनुहुन्छ । कर्मचारीतन्त्रले आँट गर्ने हो भने दुनियाको भन्दा कम छैन ।”























