इलाम- सूर्योदय नगरपालिका वडा नं. ११ सुन्तले स्थित श्री कृष्ण आधारभूत विद्यालयको दाता सम्मान , शैक्षिक प्रदर्शनी तथा विद्यार्थीलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख श्री रण बहादुर राईको प्रमुख आतिथ्यता तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी को विशिष्ट आतिथ्यता मा सम्पन्न उक्त कार्यक्रममा विद्यालयलाई स्थापना कालदेखि विभिन्न समयमा सहयोग उपलब्ध गराउने दाताहरुलाई सम्मान गरिएको थियो भने ६ जना दाताहरुलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
वि.सं. २०२२ सालमा स्थापित सो विद्यालय ग्रामीण भेगमा संचालित भए पनि स्थानीय सरकारको निर्वाचन पश्चात् सुधार भएर हाल नगरकै नमुना विद्यालयको रुपमा विकास भएको छ। स्थानीय सरकारको नीति र निगरानी , अभिभावकको सहयोग , विद्यालय परिवारको लगनशीलताले नै नमुना विद्यालयको रुपमा परिणत हुन संभव भएको नगर प्रमुखले बताए भने २०८२ मा सूर्योदय नगरपालिका कोशी प्रदेशमा शिक्षाक्षेत्रमा १ नम्बरमा आउने समेत दावी गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष सन्तोष राई लगायतले शुभकामना मन्तव्य राख्दै सो विद्यालयबाट अरु विद्यालयहरुले पनि राम्रा कुराहरूको अनुकरण गर्न सक्नुपर्ने विचार व्यक्त गरे ।
विद्यालयको इतिहासमा विभिन्न समयमा सहयोग उपलब्ध गराउने दाताहरूको मसिनो गरि खोजी गरी सम्मान गरिएको बताउदै राज्यको पुनर्संरचना पश्चात् मानवअधिकार निगरानी समूह पञ्चकन्याले विद्यार्थीको स्वस्थ पानी पिउन पाउने अधिकारको सुरक्षाका लागि उपलब्ध गराएको वाटर फिल्टर नै विद्यालयमा प्राप्त पहिलो सहयोग रहेको र सोपछि विद्यालयमा अन्य सहयोगहरु बिस्तारै प्राप्त हुदै गएको जानकारी प्रधानाध्यापक रीना राईले दिइन्।
सोही विद्यालयमा अध्ययनरत मसिना विद्यार्थीहरुले तयार पारेको विज्ञान र वातावरण सम्बन्धिका सामाग्रीहरु पनि प्रदर्शनी गरिएको थियो भने अभिजित अधिकारी , भुपेन्द्र राई को सांगीतिक प्रस्तुति सँगसँगै विद्यार्थी तथा शिक्षकशिक्षिका हरुको पनि प्रस्तुति रहेको थियोे ।























