इलाम । भदौ २० गते, इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतपामा सरसफाइ अभियान सञ्चालन गरिएको छ। उक्त अभियानमा वडा अध्यक्षसहित जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी तथा स्थानीयवासी सक्रिय रूपमा सहभागी भएका थिए।
वडा कार्यालय परिसर र यसको आसपासका सार्वजनिक स्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले गरिएको सरसफाइ कार्यक्रममा सहभागीहरूले घाँसपात हटाउने, फोहर सङ्कलन गर्ने र नाली सफा गर्ने काम गरेका थिए।
कार्यक्रममा वडा अध्यक्षले सरसफाइलाई जीवनशैलीमै उतार्नुपर्ने आवश्यकता औंल्याउँदै, “सफा र स्वस्थ वातावरण हाम्रो सामूहिक जिम्मेवारी हो,” भन्दै हरेक नागरिकले आफ्नो घरआँगन र सार्वजनिक स्थल सफा राख्न आग्रह गरे।
स्वास्थ्यकर्मीहरूले पनि सरसफाइले रोग फैलिन नदिने भएकाले यस्ता अभियान निरन्तर गर्नुपर्नेमा जोड दिए। स्थानीय बासिन्दाले भने सरसफाइ अभियानले सामुदायिक एकता र जागरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यसअघि पनि फाकफोकथुमका विभिन्न टोलमा सरसफाइ अभियान सञ्चालन हुँदै आएका छन्। स्थानीयहरूले भने यस्ता गतिविधि निरन्तरता पाएमा वडा सफा, हरियाली र स्वस्थ बन्दै जाने अपेक्षा व्यक्त गरेका छन्।























