काठमाडौंमा आज भएको ‘जेनजी’ प्रदर्शनका क्रममा हिंसात्मक झडपका कारण कम्तिमा १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। ट्रमा सेन्टरमा उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, ट्रमा सेन्टरले हाल २५ घाइतेको उपचार भइरहेको र पाँचजनाको अवस्था गम्भीर रहेको जनाएको छ।
सिभिल अस्पतालका अनुसार, उपचाररत घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ। काठमाडौं मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ। एभरेष्ट हस्पिटलमा उपचाररत ३४ जनामध्ये तीन जनाको मृत्यु भएको छ भने शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक घाइतेको मृत्यु भएको छ। त्यहाँ हाल १६ घाइतेको उपचार जारी छ।
घाइतेहरू मध्ये १४ जना प्रहरी पनि छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, ‘जेनजी’ प्रदर्शनमा भएका क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।























