काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई नयाँ पुस्ताले (जेनजी) अघि सारेकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन्। भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले आन्दोलनपछिको अवस्थालाई व्यवस्थापन गर्न र चुनावसम्मको संक्रमणकालीन सरकार सञ्चालन गर्न आफू इच्छुक रहेको जनाइन्।
कार्कीका अनुसार, “जेनजी पुस्ताले मेरो नाम प्रस्ताव गरेका छन्, त्यो मेरोप्रति भएको विश्वासको प्रमाण हो। म छोटो अवधिका लागि सरकार सञ्चालन गरी चुनावमा ध्यान दिनेछु,” उनले भनिन्।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै उनले पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै आन्दोलनकै क्रममा सरकारी संरचनामा भएको तोडफोड र क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसलाई पुनःस्थापित गर्ने संकेत दिइन्।
सरकारको जिम्मेवारी पाए भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ। नेपाली राजनीतिमा पटक–पटक समस्या दोहोरिनु दुर्भाग्य भएको भन्दै उनले नयाँ पुस्तासँग हातेमालो गरेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाइन्।
नेपाल–भारत सम्बन्धबारे बोल्दै कार्कीले दुवै मुलुकबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको बताइन्। “हामीबीच निकट सम्बन्ध छ, तर छिमेकी भएकाले कहिलेकाहीँ आवाज आउनु स्वाभाविक हो। तर सम्बन्धको आधार बलियो नै छ,” उनको भनाइ थियो।























