इलाम । संविधान र कानूनी व्यवस्थाको संरक्षणका लागि देशभरका बार एकाइहरू क्रमशः सडकमा उत्रिरहेका बेला आज इलाम बार एसोसिएशनले पनि आफ्नै कार्यलय परिसरमा मौन प्रदर्शन गरेको छ।
“Save the Nation – Save the Constitution” लेखिएका प्लेकार्डसहित, नेपालको संविधानको प्रतिलिपि हातमा बोकेर कानुन व्यवसायीहरू करिब एक घण्टा मौन रुपमा उभिएका थिए। राजधानी काठमाडौँ मात्र नभई मुलुकका अन्य भागहरूमा समेत देखिएको यो अभियानमा इलाम बारको सहभागितालाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
बार एसोसिएशनका वरिष्ठ अधिवक्ताहरूले हालको राजनीतिक परिस्थिति संवैधानिक संकटतर्फ धकेलिँदै गएको भन्दै, संविधानको रक्षा नै लोकतन्त्रको रक्षा भएको चेतावनी दिएका थिए। उनीहरूले जनताको अधिकार, स्वतन्त्र न्यायपालिका र विधिको शासनमाथि कुनै पनि प्रकारको धावा बोल्ने प्रयास अस्वीकार्य हुने स्पष्ट सन्देश दिएका छन्।
यसअघि नेपाल बार एसोसिएशनको आह्वानमा विभिन्न जिल्ला बार एकाइहरूले देशभर प्रदर्शन गर्दै आएका छन्। इलाम बारको आजको मौन प्रदर्शनले पूर्वी नेपालको कानुन व्यवसायीहरूको साझा अडान पनि प्रष्ट पारेको छ।
स्थानीय नागरिक र पत्रकारहरूले पनि सो कार्यक्रमलाई नजिकैबाट अवलोकन गरेका थिए। बार नेतृत्वले संविधानलाई धरापमा पार्ने प्रवृत्तिबाट मुलुकलाई जोगाउन सबै पेशागत निकाय, सचेत नागरिक र राजनीतिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।























