काठमाडौं – हाल देशभर उत्पन्न असहज परिस्थितिले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर परेको छ। शिक्षा मन्त्रालयको मुख्य भवनमा क्षति पुगेपछि मन्त्रालयले अस्थायी रूपमा केशरमहल परिसरबाट आफ्नो कामकाज सञ्चालन गर्ने तयारी गरेको छ।
पछिल्ला दिनमा जेनजी समूहको प्रदर्शन र हिंसात्मक गतिविधिका कारण विद्यालयहरू लामो समयदेखि बन्द रहँदा, विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको छ। यसै क्रममा निर्धारित परीक्षा तालिका पनि स्थगित गर्नुपरेको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका अनुसार विद्यालय बन्द रहँदा हजारौँ बालबालिकाको अध्ययनमा नकारात्मक प्रभाव परेको छ। अभिभावकहरूमा समेत बालबालिकाको भविष्यप्रति चिन्ता बढेको छ।
यसैबीच, हरेक वर्ष भव्य रूपमा मनाइने राष्ट्रिय बाल दिवस २०८२ यसपटक विषम परिस्थितिका कारण अपेक्षित रूपमा प्रभावकारी हुन सकेन। औपचारिक कार्यक्रमहरू सीमित भए पनि बालबालिकाको स्वास्थ्य, संरक्षण र सुरक्षित वातावरणमा ध्यान दिनुपर्ने विषयलाई विशेष प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।
शिक्षाविद्हरूको भनाइमा अहिलेको चुनौतीपूर्ण अवस्थामा शिक्षा प्रणालीलाई नियमित मार्गमा फर्काउन सबै निकायको सहकार्य अपरिहार्य छ। विद्यालय पुनः सञ्चालन, परीक्षाको व्यवस्थापन र बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिनु आजको मुख्य आवश्यकता भएको उनीहरूको तर्क छ।























