काठमाडौं । पछिल्ला दिनमा युवाहरूको प्रदर्शन तोडफोड र आगजनीमा बदलिएपछि भएको सुरक्षा निकायको हस्तक्षेपबारे राष्ट्रिय मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको छ।
सोमबार सार्वजनिक गरिएको विज्ञप्तिमा आयोगले लोकतान्त्रिक प्रणालीमा सरकारको दायित्व नागरिकका उचित आवाजलाई समयमा सम्बोधन गर्नु हो भन्ने प्रष्ट पारेको छ। आयोगले सुरक्षा निकायबाट देखिएको अत्यधिक बल प्रयोगलाई ‘दु:खद’ भन्दै त्यसप्रति असन्तुष्टि जनाएको छ।
तर आयोगले तत्काल थप टिप्पणी गर्नुभन्दा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिपूर्ति दिन सरकारलाई विशेष ध्यान दिन आग्रह गरेको छ। साथै घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
आयोगले विज्ञप्तिमा प्रदर्शनकारीहरूलाई पनि संयमित, मर्यादित र शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न सुझाव दिएको छ। यससँगै सरकारले उच्च सुरक्षा व्यवस्थाको तयारी गर्दा पनि अनावश्यक बल प्रयोग नगरी नागरिकको हक र स्वतन्त्रताको सम्मान गर्नुपर्ने आयोगको भनाइ छ।























