काठमाडौं, भदौ ३० । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकारका रूपमा भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। नेपालको कानुनी इतिहासमा भण्डारी महान्यायाधिवक्ता बन्ने पहिलो महिला हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले भण्डारीलाई नियुक्त गरेका हुन्। यसअघि महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिरहेका रमेश बडालले राजीनामा दिएपछि यो पद खाली भएको थियो।
भण्डारीको कानुनी यात्रा लामो अनुभव र विविध जिम्मेवारीले भरिएको छ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी उनी यसअघि सूचना आयुक्तको रूपमा पनि काम गरिसकेकी छिन्। अधिवक्ताको रुपमा लामो अनुभव बटुलेकी भण्डारीलाई अब देशको प्रमुख कानुनी सल्लाहकारको जिम्मेवारी दिइएको हो।
भण्डारीको नियुक्तिले न्याय क्षेत्र र कानुनी पेशामा महिलाको सहभागिता बढ्ने विश्वास गरिएको छ। कानुनी वृत्तमा उनलाई मेहनती, अनुशासित र स्पष्ट दृष्टिकोण राख्ने अधिवक्ता भनेर चिन्छ।























