काठमाडौँ । नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्न भाद्र २३ गते (बुधबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएकाहरूप्रति राष्ट्रिय शोक मनाइने उल्लेख छ। सोही क्रममा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बुधबार सार्वजनिक बिदा हुने जनाएको छ।
यससँगै मन्त्रिपरिषद्को सोमबारको बैठकले देशभरका सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ, “जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतकहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले सार्वजनिक बिदा दिने र राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।”
सरकारको यो निर्णयलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वागत गरेका छन्। आन्दोलनमा ज्यान गुमाएका परिवारलाई सरकारले क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाइसकेको र उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको पनि स्मरणीय छ।
नागरिक समाज, मानवअधिकारकर्मी र विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले सरकारको कदम पीडित परिवारलाई सम्मानजनक देखिने भए पनि आन्दोलनका कारण सिर्जित समस्याको दिगो समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।























