काठमाडौँ, असोज १। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा जेनजी प्रदर्शनका क्रममा जलाइएका सवारीसाधनलाई तत्काल अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मन्त्री घिसिङका अनुसार जलेका सवारीसाधनले परिसरको दृश्यतालाई नकारात्मक बनाएको र तिनको व्यवस्थापन तुरुन्त गर्नुपर्ने अवस्था आएको छ।
मन्त्री घिसिङको सचिवालयले जनाएको छ, “कार्यालय भित्रको काममा असर नपरोस् तर बाहिरी भागलाई कुरुप हुन नदिऊँ। क्षति पुगेका सवारीसाधन यत्रतत्र फैलिएका छन्, अब सकारात्मक सन्देश दिन ती वस्तुहरू तुरुन्त हटाएर व्यवस्थापन गरौँ।”
उहाँले क्षतिको मूल्याङ्कन तत्काल गर्न, सामान्य अगलागी भएका भवनका बाहिरी भागमा रंगरोगन गर्ने र प्रभावित संरचनाहरूको पुनर्निर्माणको तयारी सुरु गर्न पनि निर्देशन दिनुभयो। यस अभियानलाई ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ नाम दिइएको छ, जस अन्तर्गत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण अघि बढाइनेछ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरिसकेको र पुनर्निर्माणका लागि तयारी भइरहेको जनाएको छ। मन्त्री घिसिङले सरकारी कार्यालय तथा संरचनाको संरक्षण र पुनर्निर्माणमा सबैलाई सक्रिय भूमिका निभाउन आग्रह गर्नुभएको छ।
यस पहलले सिंहदरबार र अन्य सरकारी संरचनाको सौन्दर्य र सुरक्षामा सुधार ल्याउने मात्र नभई आगलागी वा क्षतिको अवस्थामा तत्काल कदम चाल्न सकिने उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ।























