इलाम । नेपाल प्रहरीले संगठनभित्र ठूलो स्तरको सरुवा गरेको छ। बुधबार राति प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ९० जना नायव उपरीक्षक (डिएसपी) लाई विभिन्न जिल्ला र प्रहरी इकाइमा खटाइएको छ।
यस सरुवामा इलाम लगायतका पहाडी जिल्लाका सुरक्षा व्यवस्थालाई ध्यानमा राखी नयाँ जिम्मेवारी तोकिएको छ। इलाममा तैनाथ प्रहरी अधिकारीलाई अन्यत्र स्थानान्तरण गरी नयाँ टोली पठाइने तयारी भएको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार मोहनमणि अधिकारी, प्रकाश श्रीमल, धनबहादुर बोहरा लगायतका अधिकृतलाई काठमाडौंका प्रमुख प्रहरी वृत्तमा जिम्मेवारी दिइएको छ भने पूर्वका जिल्लाहरूमा पनि सरुवा गरी नयाँ टोली खटाइएको छ।
यसअघि जेनजी युवा आन्दोलनपश्चात् सुरक्षात्मक रणनीति परिवर्तन गर्ने क्रममा नेपाल प्रहरीले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको समेत सरुवा गरेको थियो। हालैको निर्णयलाई त्यसकै निरन्तरता मानिएको छ।
इलामका स्थानीयवासीले सरुवापछि सुरक्षा प्रणाली अझै प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्। जिल्ला प्रशासन र प्रहरी कार्यालयले भने नयाँ जिम्मेवारीसहित आउने अधिकारीहरूलाई चाँडै काममा खटाइने र सार्वजनिक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन्।























