इलाम। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न इलामको रोङ गाउँपालिकाले अनौठो र प्रभावकारी कदम चालिरहेको छ। दुई वर्षअघि सुरु गरिएको ‘अभिभावक शिक्षा कार्यक्रम’ मार्फत अहिले गाउँपालिकाका सामुदायिक विद्यालयका अभिभावकहरूलाई पनि नियमित रूपमा विद्यालयमै बोलाएर अध्ययन–अध्यापन गराइँदै आएको छ।
गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुबास)का अनुसार शिक्षा सुधारमा शिक्षक र सरकार मात्र होइन, अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएकाले यो अभियान थालिएको हो। महिनामा एक दिन विद्यालय आउने क्रममा अभिभावकहरूले शैक्षिक महत्व, बाल विकास, संस्कार, जीवन उपयोगी सीप र शिक्षामा आफ्नो योगदानबारे प्रशिक्षण प्राप्त गर्छन्।
कार्यक्रम चल्ने दिन विद्यालयका कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई घरमै बस्न लगाइन्छ, जसले गर्दा उनीहरूले घरायसी काम र जिम्मेवारी अनुभव गर्ने अवसर पाउँछन्। यसरी विद्यार्थीले आमा–बुबाले गर्ने मेहनत प्रत्यक्ष अनुभूति गर्ने भएकाले उनीहरूमा कदर गर्ने संस्कार बढेको शिक्षाविद्हरूको भनाइ छ।
रोङ–३ की सरला मुखियाले अभिभावक शिक्षा सुरु भएपछि आफ्ना छोराछोरीको अध्ययनमा चासो बढेको बताइन्। “महिनामा एक दिन विद्यालयमा पुगेर सिकेका कुरा घरमै व्यवहारमा उतार्छौँ। यसले छोराछोरीलाई पढाइतिर प्रेरित गर्न सजिलो भएको छ,” उनले भनिन्। त्यस्तै, स्थानीय केसवराज लुइटेलले पनि यो कार्यक्रमले परिवार र विद्यालयबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताएका छन्।
हाल गाउँपालिकाका ३० सामुदायिक विद्यालयमा ३५ जना सहजकर्तामार्फत कार्यक्रम सञ्चालन भइरहेको छ। प्रत्येक महिनाको अन्तरक्रियामा शिक्षा सुधारका उपाय, अभिभावकको जिम्मेवारी र विद्यालयसँगको सहकार्यबारे छलफल गरिन्छ।
यसबाहेक, गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि विशेष पहल गरिरहेको छ। स्मार्टबोर्ड, इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमार्फत शिक्षण–सिकाइलाई आधुनिक बनाउन लागिएको छ। यसका लागि शिक्षकलाई प्राविधिक तालिम दिइँदै आएको गाउँपालिका स्रोतले जनाएको छ।
समग्रमा, रोङ गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ अभ्यासको उदाहरण पेश गरेको छ। यसले सामुदायिक विद्यालयमा मात्र होइन, स्थानीय समुदायकै शैक्षिक सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको अभिभावक र शिक्षकहरू विश्वास गर्छन्।























