काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले हटाएकी छन्। आइतबार साँझ डा. मिश्रालाई मन्त्री सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले विवादास्पद विगत सार्वजनिक भएपछि राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन्।
राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, सोमबार बिहान ७ बजे मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता आएको थियो। त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फर्कँदा डा. मिश्राको नाम काटिएको देखिएको थियो।
स्रोतका अनुसार, ‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएको थियो। त्यस फाइललाई आज बिहान ७ बजे फिर्ता मागियो र बिहान ९ बजे फर्कँदा उहाँको नाम हटाइएको थियो।’
यससँगै अब राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ। यस क्रममा:
पूर्व सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नेछन्।
मदन परियार कृषि तथा पशुपक्षी विकास मन्त्री,
जगदिश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री,
महाबिर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा शपथ ग्रहण गर्नेछन्।
यसअघि आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित ५ मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। तर डा. मिश्राको नाम हटाएपछि चार मन्त्रीको शपथ निश्चित भएको हो। यसरी नयाँ मन्त्री थपिएपछि वर्तमान मन्त्रिपरिषद् आठ सदस्यीय हुनेछ।
प्रधानमन्त्री कार्की भदौ २७ गते नियुक्त भएपछि भदौ २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरिसकेकी छन्। यस सँगै नयाँ मन्त्रिपरिषद् विस्तारको प्रक्रिया पूर्ण भएको छ।























