काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेकी सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छिन्।
मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्ने कार्यक्रम तय भएको छ। सो बैठकपछि सरकारको हालसम्मको कामकारबाही, आगामी प्राथमिकता तथा राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कार्कीको सम्बोधन साँझ ६ बजे टेलिभिजन तथा रेडियोमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।
भदौ २७ गते जेनजी प्रदर्शनपछि कार्की नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्री बन्न सफल भएकी थिइन्। उनको नियुक्तिले देशको राजनीतिक यात्रामा नयाँ अध्याय लेखिएको मानिएको छ। न्याय क्षेत्रको उच्च जिम्मेवारी सम्हालिसकेकी कार्कीलाई मुलुकको कार्यकारी नेतृत्वमा देख्न पाउनु महिला सशक्तिकरणका दृष्टिले महत्वपूर्ण कदम भएको राजनीतिक विश्लेषकहरूले बताउँछन्।
सम्बोधनमा कार्कीले हालको राजनीतिक अवस्था, संविधान कार्यान्वयन, संघीय संरचना सुदृढीकरण, आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राख्ने विषय उठाउने अपेक्षा गरिएको छ। साथै, मुलुकले सामना गरिरहेका चुनौती तथा सरकारका आगामी योजनाबारे नागरिकलाई जानकारी दिने सम्भावना पनि छ।
विशेषज्ञहरूको भनाइमा, प्रधानमन्त्री कार्कीको सम्बोधनले न केवल सरकारको नीतिगत दिशा स्पष्ट पार्नेछ, बरु मुलुकमा महिला नेतृत्वको प्रभावकारी भूमिकाबारे पनि जनसन्देश प्रवाह गर्नेछ।























