इलाम । इलामको कला र प्रतिभाको केन्द्रका रूपमा परिचित चेतना नाट्य समूहले देशव्यापी रूपमा ऐतिहासिक सफलता हात पारेको छ। समूहका कलाकार नितेस लोहारले निर्देशन गरेको लघु चलचित्र ‘संगीनी’ ले राष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रथम स्थान हासिल गरेको हो।
त्यही चलचित्रबाट नितेस लोहारले उत्कृष्ट लेखकको अवार्ड तथा सलिना अधिकारीले उत्कृष्ट महिला कलाकारको अवार्ड जित्न सफल भएकी छन्।
त्यसैगरी चेतना नाट्य समूहले निर्माण गरेको अर्को चलचित्र ‘अन्तिम राप’ ले सोही प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ। उक्त चलचित्रका कलाकार दर्शन घिमिरेले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै इलामको नाम झन् उच्च बनाएका छन्।
राष्ट्रिय लघु चलचित्र महोत्सवको आयोजना हरीकल्याणी रिमाल नाट्य संगवित प्रतिष्ठानले गरेको हो। देशभरिबाट २३ वटा लघु चलचित्रले सहभागिता जनाएका थिए, जस मध्ये ७ वटा फिल्म विभिन्न विधामा मनोनयनमा परेका थिए।
निर्णायक मण्डलमा भुवन चन्द (नेपालकी पहिलो नायिका), मदन दास श्रेष्ठ र हरीहर शर्मा जस्ता चर्चित व्यक्तित्वहरू रहेका थिए।
यसअघि पनि चेतना नाट्य समूहका कलाकारले राष्ट्रिय स्तरमा लगातार सफलता पाइरहेका छन्। हिजोमात्र “Acting Star Nepal Season 1” प्रतियोगितामा इलामकी चेली तथा समूहकी कलाकार भावना खपाङ्गी मगरले फस्ट रनर अपको उपाधि जितेकी थिइन्।
इलामको सांस्कृतिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन योगदान दिँदै आएको चेतना नाट्य समूहको यो उपलब्धि जिल्लावासीका लागि गर्वको विषय बनेको छ।
तस्बिर Ilam Green बाट























