इलाम । इलामको माङसेबुङ गाउँपालिका–३, चिबुवामा जारी प्रथम चिबुवा कप फुटबल प्रतियोगितामा आज (शुक्रबार) दुई रोचक खेलहरू हुने भएका छन्।
आयोजक चिबुवा युथ क्लबका अध्यक्ष उद्देश लिम्बूका अनुसार पहिलो खेलमा चिबुवा युथ क्लब ‘बी’ र फ्युचर स्टारबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सर्जनशील एफसी र बतासे एफसी आमनेसामने हुनेछन्।
बिहीबार उद्घाटनसँगै सुरु भएको प्रतियोगिताको पहिलो दिन दुई टिमले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा दशमी फुटबल क्लबले एनवाइसी मान्द्रलाई ३–२ गोलको अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनायो। त्यसैगरी, दोस्रो खेलमा युथ अफ माङसेबुङले आयोजक चिबुवा युथ क्लब ‘सी’ विरुद्ध २–० गोलको सहज जित निकाल्दै अर्को चरणमा प्रवेश गरेको हो।
प्रतियोगिता स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेता टिमले रु. ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. २५ हजार नगदसहित ट्रफि र मेडल पाउनेछन्।
चिबुवा युथ क्लबको आयोजनामा भइरहेको यो प्रतियोगितामा इलाम र पाँचथर जिल्लाका २४ टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल आउँदो कात्तिक १० गते हुने तय गरिएको आयोजक समितिले जनाएको छ।
स्थानीय युवाहरूले खेलकुदमार्फत गाउँमा एकता, भाईचारा र खेलप्रतिको उत्साह बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।























