इलाम । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला सुरक्षा संयन्त्रको टोलीले माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीस्थित विपद् प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा टोलीले विपद्का कारण विस्थापित भएका परिवारसँग प्रत्यक्ष संवाद गर्दै पुनर्स्थापना र राहत कार्यमा भइरहेको प्रगति बारे जानकारी लिएको थियो। प्रभावित परिवारको अवस्था बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले स्थानीय तह, समुदाय र सरकारी निकायबीच समन्वय र सहकार्यका माध्यमबाट पुनःनिर्माण कार्यलाई गति दिने प्रतिबद्धता जनाइन्।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रतिनिधिहरू समेत सहभागी थिए। टोलीले विपद् व्यवस्थापनमा देखिएका समस्या, चुनौती र आगामी रणनीतिबारे समेत स्थानीय सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेको थियो।
यसै क्रममा पाकिस्तान सरकारबाट प्राप्त सहयोग सामग्रीहरू देउमाई नगरपालिकास्थित विपद् प्रभावित क्षेत्रमा हस्तान्तरण गरिएको छ। सो क्रममा सहयोगका सामग्रीहरू उचित स्थानमा उपयोग हुने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको थियो।
स्थानीयवासीले सरकारी टोलीको स्थलगत निरीक्षण र छलफलले आफूहरूमा राहतको आशा र विश्वास जगाएको बताएका छन्।























