इलाम । माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै गएको छ। शुक्रबार सम्पन्न दुई प्रतिस्पर्धात्मक खेलमा आयोजक चिबुवा युथ क्लब ‘बी’ र बतासे एफसीले उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा स्थान सुनिश्चित गरेका छन्।
पहिलो खेलमा आयोजक टोलीले फ्युचर स्टारमाथि २–० को सहज जित हात पारेको हो। खेलको पहिलो हाफमै उत्कृष्ट तालमेल प्रस्तुत गर्दै तारा लिम्बू र मनकुमार लिम्बूले एक–एक गोल गरेका थिए। दर्शकहरूले घरेलु टोलीको प्रदर्शनमा उत्साहका साथ ताली बजाएर साथ दिएका थिए।
त्यसैगरी दोस्रो खेलमा बतासे एफसीले सिर्जनशील एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। बतासेको जितमा राजकुमार राईले निर्णायक गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्याएका थिए।
प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई रोमाञ्चक खेल हुने भएका छन्। पहिलो खेलमा योङहाङ एफसी र नाचुहाङ एफसी आमनेसामने हुनेछन् भने दोस्रो खेलमा महमाई एफसी र सिक्तेम्बा एफसीबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको आयोजक समिति अध्यक्ष उद्देश्य लिम्बूले जानकारी दिए।
चिबुवा युथ क्लबको आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, भने उपविजेताले २५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्ने छन्।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा इलाम र पाँचथर जिल्लाका २४ वटा टिम सहभागी भएका छन्। खेलप्रेमीहरूको ठूलो उपस्थितिले मैदानमा उत्साह थपिएको छ।
प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते भव्य समारोहका बीच सम्पन्न हुने आयोजकले जनाएको छ। स्थानीय युवाहरूले यस प्रतियोगितामार्फत खेलकुदप्रतिको रुचि बढ्ने र प्रतिभा पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।























