सुन्दरहरैंचा (मोरङ) – मोरङको सुन्दरहरैंचा–३ स्थित साथी कम्प्युटर लर्निङ सेन्टरले आफ्ना विद्यार्थीहरूबीच ज्ञान, सीप र प्रतिस्पर्धात्मक भावना बढाउने उद्देश्यले रोचक क्विज प्रतियोगिता आयोजना गरेको छ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरण समूहगत प्रतिस्पर्धा थियो भने दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूले व्यक्तिगत स्तरमा चुनौतीपूर्ण प्रश्नहरूको उत्तर दिनु पर्ने प्रतियोगितामा भाग लिएका थिए।
पहिलो चरणमा समूहगत रूपमा ६ वटा समूह सहभागी थिए, जसमा प्रत्येक समूहमा ३–३ जना विद्यार्थीहरू थिए। समूहगत प्रतिस्पर्धामा समूह सी प्रथम, समूह ई दोस्रो र समूह ए तेस्रो स्थानमा पुगेको थियो।
समूह सी का विद्यार्थी विजय विश्वकर्मा, रोहित पराजुली र तुलसा आचार्यलाई नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो हुने समूह ई का ब्रिन्दा बास्तोला, दिपिका खड्का र यमिमा भट्टराईलाई नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो भने समूह ए लाई नगद १ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको संस्थाका प्रमुख निरन्जन प्रसाद आचार्यले जानकारी दिए।
पहिलो चरण अत्यन्तै प्रतिस्पर्धात्मक रहेको थियो र समूहहरूबीचको अंक फरक मात्र ५–१० अंक रहेको थियो। उत्कृष्ट प्रदर्शन गरेका समूह सी र ई का विद्यार्थीहरूले दोस्रो चरणमा व्यक्तिगत चुनौती “नन–स्टप आन्सर” मा भाग लिन पाएका थिए।
दोस्रो चरणमा प्रतियोगीहरूले लगातार २० प्रश्नहरूको उत्तर दिनु पर्ने थियो। यसमा समूह सी का विजय विश्वकर्माले १६ प्रश्न सही उत्तर दिए र १७ औँ प्रश्नमा असफल भए। उनको उत्कृष्टतामा नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, समूह ई की ब्रिन्दा बास्तोला र दिपिका खड्काले सबै २० प्रश्नको सही उत्तर दिँदै उत्कृष्ट प्रदर्शन गरे। उनीहरूलाई कम्प्युटर सेट, ट्रफी, प्रमाणपत्र र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ।
साथी कम्प्युटर सेन्टरका प्रमुख निरन्जन आचार्यले व्यक्तिगत आम्दानीबाट यो कार्यक्रम सञ्चालन गरेको बताए। आचार्य सामाजिक अभियन्ता समेत हुन् र उनी “लाभमुखी होइन, स्वावलम्बी विद्यार्थी उत्पादन गर्नु मुख्य उद्देश्य” रहेको बताउँछन्। उनले शिक्षामा आत्मनिर्भरता र सीपमूलक शिक्षाको महत्वमा जोड दिएका छन्।
प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानप्रतिको रुचि वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको संस्थाले जनाएको छ। यसै संस्थालाई ६ महिना अघि स्थापना गरिएको भए पनि, छोटो समयमै सुन्दरहरैंचामा हजारौं विद्यार्थीहरूको मन जित्न सफल भएको छ।























