इलाम । इलाम जिल्लाका देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा हालैका प्राकृतिक प्रकोपका कारण प्रभावित परिवारलाई कतारस्थित सद्भाव युवा समूह, दोहाले आर्थिक राहत सहयोग गरेको छ।
समूहले दुबै स्थानीय तहका १९ घरपरिवारलाई कुल एक लाख १५ हजार रुपैयाँ बराबरको नगद सहयोग उपलब्ध गराएको हो। सोमबार आयोजित एक सादा समारोहका बीच उक्त सहयोग वितरण गरिएको हो।
कार्यक्रममार्फत माङसेबुङ गाउँपालिकाका ९ घरपरिवारलाई ५५ हजार रुपैयाँ र देउमाई नगरपालिकाका १० घरपरिवारलाई ६० हजार रुपैयाँ प्रदान गरिएको सद्भाव युवा समूहका संयोजकले जानकारी दिएका छन्।
उनका अनुसार कतारमा रहेका युवाहरूले आपसमा सहयोग संकलन गरी नेपालका विपद्ग्रस्त परिवारलाई सानो सहयोगका रूपमा यो रकम पठाएको हुन्। “हामी विदेशमा रहे पनि देशका दुःखमा सधैं साथ दिन तयार छौं,” संयोजकले भने।
स्थानीय जनप्रतिनिधि र राहत पाउने पीडितहरूले विदेशमा रहेका नेपाली युवाहरूको यस सहयोगलाई मानवताको उदाहरणका रूपमा लिएका छन्। उनीहरूले यस्तो सहयोगले कठिन समयमा ठूलो हौसला मिलेको बताएका छन्।
यसअघि पनि सद्भाव युवा समूह कतारले विभिन्न सामाजिक तथा मानवीय अभियानमार्फत इलामका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। समूहले आगामी दिनमा शिक्षा, स्वास्थ्य र आपतकालीन राहत क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने योजना बनाएको बताइएको छ।























