काठमाडौँ । राजधानीको व्यस्त क्षेत्रमा पर्ने जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको छ। यस कदमले सडक दुर्घटना घटाउने र सवारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।
सो ट्राफिक लाइटको उद्घाटन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा नयाँ प्रभाव पार्ने र सडक सुरक्षा सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एआईजी कार्कीका अनुसार ट्राफिक लाइट सञ्चालनपछि चालक र पैदल यात्रु दुवैका लागि सुरक्षित आवागमन सुनिश्चित हुनेछ। साथै, प्रविधिमार्फत सवारी सञ्चालनमा पारदर्शिता र अनुशासन कायम हुने बताइएको छ।
उनले सवारी नियम उल्लंघन गर्ने, शान्तिसुरक्षामा खलल पुर्याउने तथा हतियार लुट्ने जस्ता अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिनुभयो।
जोरपाटी क्षेत्र दैनिक हजारौँ सवारीसाधनको आवतजावत हुने मुख्य मार्ग हो। नयाँ ट्राफिक लाइट प्रणालीले यहाँ हुने भीडभाड घटाउने र दुर्घटनाको जोखिम न्यून गर्ने अपेक्षा गरिएको छ।























