इलाम । इलाम जिल्ला अस्पतालमा अत्याधुनिक इमर्जेन्सी ब्लक निर्माण तथा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि पहिलो चरणको सम्झौता सम्पन्न भएको छ।
यो परियोजना इलाम नगरपालिकाले भारतीय राजदूतावाससँग गरेको प्रस्तावका आधारमा अघि बढाइएको हो। २०७९ सालमा नगरपालिकाले दूतावासमा पठाएको परियोजना प्रस्ताव स्वीकृत भएपछि अब भवन निर्माण र उपकरण खरिद कार्य अघि बढ्न लागेको हो।
२०८२ साल कात्तिक २४ गते (2025 November 10) सम्पन्न सम्झौता पत्रमा इलाम नगरपालिकाका तर्फबाट नगर प्रमुख केदार थापा र भारतीय राजदूतावासका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। सम्झौता अनुसार करिब १९ करोड ७५ लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण र उपकरण खरिद कार्य सम्पन्न गरिनेछ।
नगरपालिकाका अनुसार अब टेन्डर प्रक्रिया छिट्टै अघि बढाइने तयारी भइरहेको छ। निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।
इलाम जिल्ला अस्पताल पूर्वी नेपालको एक प्रमुख स्वास्थ्य संस्था हो, जसले इलाम, पाँचथर, ताप्लेजुङ लगायत आसपासका जिल्लाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नयाँ इमर्जेन्सी ब्लक निर्माणपछि उपचार सेवा अझ प्रभावकारी, सहज र आधुनिक हुने अपेक्षा गरिएको छ।























