बागलुङ — सुर्तीजन्य पदार्थको सेवन र यसबाट उत्पन्न हुने स्वास्थ्य जोखिम नियन्त्रण गर्न बागलुङ जिल्लामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा जिल्ला भरीका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरू उपस्थित थिए।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगका कारण नेपालमा प्रत्येक वर्ष करिब ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गर्दै यसलाई ‘एक मौन हत्यारा’ अर्थात् ‘साइलन्ट किलर’ को रूपमा वर्णन गर्नुभयो। उहाँले समाजका सबै तहका व्यक्तिहरू, संघीय र प्रदेश सरकारहरू, विशेषगरी स्थानीय सरकारहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका नीति र नियमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीहरूलाई स्थानीय तहस्तरमा नियमन, सचेतना र निगरानीलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्नेबारे छलफल गरिएको थियो। सचिव देवकोटाले भने, “सुर्तीजन्य पदार्थ नियन्त्रण केवल स्वास्थ्यको सवाल मात्र नभई सामाजिक सुरक्षा, समुदायको सुरक्षा र भविष्यको लागि अत्यन्त महत्वपूर्ण कार्य हो। स्थानीय सरकारहरूको सक्रिय सहभागिता बिना यस कार्यको सफलता सम्भव छैन।”
उक्त अन्तरक्रियाले स्थानीय तहमा नीति कार्यान्वयन र जनचेतना अभिवृद्धि गर्न आवश्यक कदमहरू पहिचान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।























