नवलपरासी। ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकासको नाममा जथाभावी लगानीले वास्तविक समृद्धि हासिल नहुने बताएका छन्।
पश्चिम नवलपरासीको परासीमा आइतबार नवलपरासी उद्योग वाणिज्य सङ्घ द्वारा आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले यस विषयमा आफ्नो धारणा राखेका हुन्। उनले भने, “विकासका लागि प्राथमिकता निर्धारण नगरी अर्बौं रुपैयाँ लगानी गरिए पनि त्यो देशको समृद्धिमा ठोस योगदान पुर्याउँदैन।”
मन्त्री घिसिङले कृषि क्षेत्रको विद्युतीकरणको महत्त्वमा जोड दिनुभयो। उनले किसानको खेतखेतमा विद्युतीकरण उपलब्ध गराएर उत्पादन लागत घटाउनुपर्ने र उत्पादनशीलता बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “जसरी घरघरमा बत्ती पुगेको छ, त्यस्तै किसानको खेतखेतमा पनि विद्युत् पुगेको हुनुपर्छ। यसले कृषि उत्पादनलाई थप मजबुत बनाउँछ।”
यसैबीच मन्त्री घिसिङले पश्चिम नवलपरासीका निर्माणाधीन विभिन्न अधुरा आयोजना स्थलहरूको अवलोकन समेत गर्नुभयो। उहाँले समयमै आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ।
विशेषगरी प्रतापपुर गाउँपालिका–७, गुठ्ठीसूर्यपुरा स्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै मन्त्री घिसिङले टर्बाइनसहितका उपकरण छिट्टै मर्मत गरेर विद्युत् उत्पादन वृद्धि गर्न निर्देशन दिनुभयो।
उनले स्पष्ट गर्नुभयो कि प्रभावकारी व्यवस्थापन र प्राथमिकताका आधारमा गरिएको लगानीले मात्र देशको दिगो विकास सुनिश्चित गर्न सक्छ।























