काठमाडौँ। सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेन–जी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ।
आन्दोलनको नेतृत्व संरचना सार्वजनिक गर्दै आयोजकहरूले मिराज ढुङ्गानालाई आन्दोलनको संयोजकको जिम्मेवारी दिएका छन् भने आन्दोलन कमान्डरको भूमिकामा सुनिल सिंह ठकुरी रहनेछन्। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजकका रूपमा रहेका छन्। आन्दोलनसम्बन्धी आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।
संयुक्त जेन–जी आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँस्थित एक भोजन गृहमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको थियो। उक्त कार्यक्रममा आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको आरोप लगाउँदै अब निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरे।
हमालले मुलुक राजनीतिक, संवैधानिक तथा नैतिक संकटमा फस्दै गएको उल्लेख गर्दै यस्तो अवस्थाबाट देशलाई मुक्त गराउन सडकबाट दबाब सिर्जना गर्नु अपरिहार्य भएको बताए। उनले शान्तिपूर्ण तर प्रभावकारी आन्दोलनमार्फत जनताको आवाज बुलन्द गर्न सबै देशवासीलाई निर्णायक संघर्षमा सहभागी हुन आह्वानसमेत गरे।
आन्दोलनकारीहरूले वर्तमान सरकार जनआकांक्षाविपरीत दिशामा अघि बढिरहेको, राज्य संयन्त्र क्रमशः कमजोर र असफल बन्दै गएको तथा विद्यमान संविधानको शासकीय स्वरूपले जनताको वास्तविक आवश्यकता र भावना सम्बोधन गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूको ठहरमा अहिलेको राजनीतिक संरचना र संविधानकै कारण मुलुक दीर्घकालीन राजनीतिक तथा संवैधानिक अन्योलको चक्रमा फस्दै गएको छ।
संयुक्त जेन–जी आन्दोलनले शान्तिपूर्ण तर दृढ संघर्षमार्फत राजनीतिक निकास खोज्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ। माइतीघर मण्डलाबाट सुरु हुने आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी विस्तार गरिने योजना रहेको आयोजकहरूले बताएका छन्। विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा सचेत नागरिकहरूको सक्रिय सहभागितामार्फत आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधार बनाइने दाबी गरिएको छ।
आयोजकहरूका अनुसार यो आन्दोलन केवल सरकार परिवर्तनको मागमा सीमित नरही राजनीतिक सुधार, उत्तरदायी शासन व्यवस्था र दीगो लोकतान्त्रिक संरचना निर्माणतर्फ केन्द्रित हुनेछ।























